इटहरीः कोरोना संक्रमण भई धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेकी इटहरीकी एक बालिकाको मृत्यु भएको छ ।
इटहरी ६ निवासी ९ बर्षीया बालिकाको उपचारका क्रममा आज बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको प्रष्तिठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले बताए । मृतक बालिकालाई पहिलादेखि नै रोग प्रतिरोधी क्षमता कम हुने समस्या भएको डा.श्रेष्ठले बताए । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको र हिजो मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको डा.श्रेष्ठले बताए ।
त्यसैगरि धरान उपमहानगरपालिका वडा नम्बर १ की ६१ बर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण उपचारका क्रममा मृत्यु भएको डा.श्रेष्ठले जानकारी दिएका छन् । उनको उपचारका क्रममा आज बिहान ३ बजेर १५ मिनेटमा वीपीको कोभिड १९ अस्पतालमा मृत्यु भएको डा. श्रेष्ठले बताए । उनको असोज ३० गते गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक ५ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । मृतक महिलालाई दीर्घरोगी रहेको अस्पतालले जनाएको छ। उनलाई दम र उच्च रक्तचाप रोगले च्यापेको सह प्रवक्ता श्रेष्ठले बताए ।