इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को रंगशालामा रहेको आइसोलेसनबाट बुधबार थप ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनिहरुको अन्तिम पटक गरिएको परिक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो । बुधबार डिस्चार्ज हुनेमा एक जना सञ्चारकर्मी पनि रहेकी छिन् ।
आइसोलेसन केन्द्रका इन्चार्ज शिव कुमार झाका अनुसार डिस्चार्ज हुने सबैको अवस्था सामन्य रहेको छ । उनिहरु आइसोलेसनमा भर्ना हुँदा जटिल अवस्था नरहेको पनि झाले जानकारी दिए । उनका अनुसार बुधबार डिस्चार्ज भएका मध्ये ७ जना महिला र २ जना पुरुष रहेका छन् ।
योसँगै रंगशालाको आइसोलेसनबाट कोरोना जितेर घर फर्किनेको संख्या ९७ पुगेको छ । गत असोज ५ गतेबाट संक्रमित बस्न थालेको सो आइसोलेसनमा अहिलेसम्म १०३ जना संक्रमित आएका छन् । उनिहरुमध्ये ९७ जनाले कोरोना परास्त गरेका हुन् ।
इन्चार्ज झाका अनुसार आइसोलेसनमा आएका मध्ये ४ जनालाई रेफर गरिएको छ । रेफर गरिएका मध्ये एक जना इटहरी ४ का श्याम ओझको अस्पतालमा मृत्यु भएको थियो । आइसोलेसनमै अहिलेसम्म कुनै संक्रमितको मृत्यु नभएको झाले जानकारी दिए ।
बुधबार आइसोलेसनबाट ९ जना डिस्चार्ज भएसँगै अब त्यहाँ सक्रिय संक्रमितको संख्या २ रहेको छ । हाल आइसोलेसनमा रहेका दुबै जना संक्रमित पुरुष हुन् । उनिहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।