इटहरीः कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै झापाको दमक नगरपालिकाले नगर क्षेत्रमा आंशिक लकडाउन गरेको छ ।
यसका साथै नगरपालिकाले सो अवधिमा निषेधाज्ञा जारी गर्न जिल्लाा प्रशासन कार्यालयलाई अनुरोधसमेत गरिएको नगरप्रमुख रोमनाथ ओलीाले बताए । उनका अनुसार आज बुधबारदेखि लागु हुनेगरी आगामी मंसिर ३ गतेसम्म जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले अपराहन्न ४ बजेदेखि बिहान ७ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाले संक्रमण दर नियन्त्रणको अपेक्षाका साथ आंशिक लकडाउन घोषणा गरेको उपमेयर गीता अधिकारीको भनाइ छ । उनका अनुसार सन्ध्याकालीन समयमा हुन सक्ने भिडभाडजन्य गतिविधि नियन्त्रणका लागि बजार सञ्चालन र आवागमनमा प्रतिबन्ध लगाइएको हो ।
नगरपालिकाकी प्रवक्तासमेत रहेकी उपमेयर अधिकारीले नगरपालिकाले दमक २ स्थित बेलडाँगीमा अक्सिजनसहित ३० शैय्याको कोभिड अस्पतालको निर्माण सम्पन्न गरी आगामी आइतबार सञ्चालनमा ल्याउने योजना रहेको बताइन् । दमकमा हालसम्म चार सय ६१ जनामा कोरोना पुष्टि भएकोमा सोमध्ये दुई सय ९४ जना निको भई १९ जनाले ज्यान गुमाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुवेर भट्टराईले जानकारी दिए ।