इटहरीः झापामा एक कोरोना संक्रमित युवतिले आज बुधबार आत्महत्या गरेकी छन् ।
आत्महत्या गर्नेमा दमक नगरपालिका ५ घर भएकी २२ वर्षीय दीक्षा लिम्बू रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार दुई दिनअघि कोरोना पुष्टि भई घरमै आइसोलेसनमा रहेकी युवतिको शव पंखामा झुन्डिएको अवस्थामा फेला परेको हो । युवतिको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुवेर भट्टराईको भनाइ छ ।
यसका साथै, आज थप एक जना कोरोना संक्रमितले ज्यान गुमाएको उनले बताए । भट्टराईका अनुसार कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भई मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत रहेका दमक १ घर भएका ६५ वर्षीय पुरुषको आज बिहान ३ बजे उपचारका क्रममा ज्यान गएको हो ।