इटहरीः बढ्दो कोरोना संक्रमणका कारण मानिसले अनाहकमा ज्यान गुमाइरहेको अवस्थामा सरकारले जनशक्ति थप गरी कोरोना नियन्त्रण अभियानलाई देशव्यापी रुपमा तिव्र बनाउने भएको छ ।
सो प्रयोजनका लागि कर्मचारी भर्ति गर्न स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी आज बिहीबार दरखास्त आह्वान गरेको छ । सातै प्रदेश तथा स्वास्थ्य सेवा विभागमा कर्मचारी दरबन्दीको रिक्तता पूर्ति गर्दै प्रभावकारी सेवा प्रवाह गर्न तीन महिनाका लागि कर्मचारी भर्ना गर्ने उद्देश्यले दरखास्त आह्वान गरिएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतका लागि बिरामीको लगत संकलन, प्रयोगशालाको कार्य सञ्चालनजस्ता काम अगाडि बढाउन भन्दै एक सय ९१ जना जनशक्ति माग गरेको हो । मन्त्रालयले जारी गरेको सूचनामा योग्यता पुगेका जोकोही नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरिएको छ ।