इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा आज बिहीबार एक महिला र दुई पुरुष गरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङका ५९ वर्षीय पुरुष, सप्तरीको राजविराज नगरपालिका १ घर भएकी २३ वर्षीय युवति तथा राजविराज नगरपालिकाकै वडा नम्बर ८ बस्ने ६५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार कात्तिक ९ गते संक्रमण पुष्टि भई सोही दिन प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएका मोरङका पुरुषको उपचारका क्रममा आज बिहान ३ बजे ज्यान गएको हो । मृतक लामो समयदेखि हाइपरटेन्सन तथा मुटुको समस्याबाट पीडित रहेको सहप्रवक्ता श्रेष्ठले उल्लेख गरे ।
यसैगरी, कात्तिक १८ गते संक्रमण पुष्टि भई १९ गते उपचारार्थ भर्ना भएकी सप्तरीकी युवतिको उपचारका क्रममा आज बिहान ३ः१५ बजे ज्यान गएको सहप्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार मृतक युवति लामो समयदेखि रक्तअल्पता, पेन्साइटोपेनिया,हाइपोथाइरोडिजम तथा मृगौलाको समस्याबाट ग्रस्त रहेकी थिइन् ।
यसैगरी, कात्तिक १५ गते संक्रमण पुष्टि भई सोही दिन उपचरार्थ प्रतिष्ठानमा भर्ना भएका सप्तरीका पुरुषको उपचारका क्रममा आज बिहान ८ बजे ज्यान गएको सहप्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार मृतक पुरुषमा कुनै पनि दीर्घरोग भने थिएन ।