इटहरीः मोरङको विराटनगर महानगरपालिकाले घरमै आइसोलेसनमा बसेका कोरोना संक्रमितबाट प्रमाणपत्र जारी गरेको बहानामा उठाइरहेको शुल्क खारेज गरेको छ ।

वडा कार्यालयहरुबाट प्रमाणीकरण गरी जारी भइरहेको सो प्रमाणपत्र बीमा भुक्तानीका लागि आवश्यक पर्ने भन्दै महानगरपालिकाले पाँच सय १० रुपैयाँ शुल्क लिएर मात्र प्रमाणपत्र जारी गर्न परिपत्र गरेकोमा सर्वत्र आलोचना भएपछि निर्णय फिर्ता लिएको हो । महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बिमा भुक्तानीका लागि आवश्यक भएकाले शुल्क उठाउने गरेको स्वीकार गरेपनि महानगरपालिकाका मेयर भीम पराजुलीले भने शुल्क उठाउने निर्णय महानगरपालिकाले नगरेको दाबी गरेका छन् ।

अन्य सिफारिस शिर्षकमा पाँच सय रुपैयाँ र निवेदन दस्तुरबापत १० रुपैयाँ शुल्क असुल्न महानगरले जारी गरेको परिपत्र मान्न केही वडा कार्यालयले अस्वीकार गरेको पृष्ठभूमिमा मेयर पराजुलीले भने वडा कार्यालयहरुले नै आफूखुसी शुल्क असुली गरेको आरोप लगाएका छन् । यद्यपी, महानगरपालिकाले दोस्रो पटक जारी गरेको परिपत्रका आधारमा शुल्क उठाउने काम भने रोकिएको छ ।