इटहरीः प्रदेश १ सरकारले कोरोना संक्रमणका कारण संस्थागत आइसोलेसनमा रहेका संक्रमितलाई १४ दिनपछि पीसीआर परीक्षण नगरी घर पठाउने भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य संगठन तथा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको राष्ट्रिय परीक्षण मार्गनिर्देशनका आधारमा बिनापरीक्षण संक्रमितलाई घर पठाउन लागेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. सुरेश मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशनमा सामान्य अवस्थाका संक्रमितलाई १४ दिनपछि स्वतः डिस्चार्ज गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले सोही व्यवस्थाका आधारमा तयारी सुरु गरेको बताए ।

यसअघि पीसीआर नेगेटिभ नभएसम्म आइसोलेसनमा बस्नुपर्ने व्यवस्था रहेकोमा अब भने सामान्य अवस्थाका संक्रमितलाई घर पठाउने मार्ग प्रशस्त गर्न छलफल गरिरहेको मेहताले बताए ।