इटहरीः कोरोना संक्रमणको अनियन्त्रित वृद्धिलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले कडा नियम लागु गरेको छ ।

होम आइसोलेसनमा बस्ने संक्रमितको जथाभावी गतिविधिका कारण समुदायमा संक्रमण फैलिएको भन्दै सो को नियन्त्रणका लागि जिल्लामा संक्रमितले घर बाहिर जान नपाइने व्यवस्था गरिएको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलका अनुसार आइसोलेसनमा नबसी समुदायमा हिँडडुल गर्ने संक्रमितलाई प्रशासनले संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार एक सय रुपैयाँ जरिवाना तथा एक महिना कैद गर्ने भएको छ ।

दसैँअगावै ऐन कार्यान्वयनको निर्देशन जारी गरिएको उल्लेख गर्दै उनले अब भने मापदण्ड पालनाको नियमन गरी उल्लङ्घन गर्नेलाई कडा कारबाहीको दायरामा ल्याइने बताए । संक्रमित व्यक्तिले मापदण्ड पालना नगरेकै कारण समुदायमा संक्रमण बढेको जनगुनासोका आधारमा प्रशासनले कडा रणनीति अख्तियार गरेको हो ।