इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा केही दिन स्वाव संकलन रोकिएको र कोरोना परीक्षण ठप्प भएपछि नगरिक समाज इटहरीले उपमहानगरको ध्यानाकर्षण गराएको छ ।
हिजो बुधबार नगर प्रमुख द्धारिकालाल चौधरी र उप–प्रमुख लक्ष्मी गौतमलाई भेटेर नागरिक समाजले इटहरीमा कोरोना परिक्षण रोकिएको विषयमा छलफल गरेको हो । छलफलका क्रममा नागरिक समाजका प्रतिनिधिले इटहरीमा कोरोना परीक्षण किन रोकियो भनेर उपमहानगरसँग जिज्ञासा गरेका थिए । उपमहानगरले प्रतिप्रश्न गर्दै कोरोना फैलाउन नागरिक स्तरबाट लापरबाही पहिलो कारण भएको भन्दै किन नागरिक सरकारको मापदण्ड मान्दैनन् भनेर सोधेका थिए । ज्ञापनपत्र नै नबुझाई सकिएको छलफलका क्रममा इटहरीकी उप–प्रमुख लक्ष्मी गौतमले कोरोना संक्रमित नागरिक र अन्य नागरिकबाट चरम लापरबाही भएकाले इटहरीमा कोरोना संक्रमण बढेको बताइन् ।
‘इटहरीमा हाम्रा स्वाब संकलन केन्दभन्दा बाहिर कोरोना परीक्षण गराउनेले कोरोना पोजेटिभ भएको कुरा लूकाउने र निर्वाध रुपमा हिँडडूल गर्ने गरेको पाएका छौँ । उनीहरुले कोरोना संक्रमित भए पनि जटिल अवस्था आएपछि मात्र आफू संक्रमित भएको जानकारी दिने गरेका छन्’, उनले भनिन् । साथै उनले कोरोना संक्रमित बने पनि पसल तथा व्यवसाय सञ्चालन गर्ने, बाहिर हिडडूल गर्ने, परिवारका सदस्यसँग घुलमिल हुने गरेकाले इटहरीमा कोरोना संक्रमण बढेको बताइन् । कोरोना परीक्षण किन भएन भन्ने नागरिक समाजको जिज्ञासाको जवाफ दिँदै उनले कोरोना परीक्षण दसैँलगत्तै सुरु गरिएको तर परीक्षणको पद्दति फरक पारिएको जानकारी दिइन् । ‘तपाईँहरुलाई जानकारी नभएको मात्र हो हामीले कोरोना परीक्षण गरिरहेका छौँ । पहिलेको जस्तो हामीले कोरोना परीक्षण जस्लाई शंका लागेको छ उसलाई गरेका छैनौँ । अहिले हामीले आफैँ कोरोना परीक्षण गराउन नसक्नेलाई मात्र गरिरहेका छौँ’, उनले भनिन् ।
साथै उनले सबैको कोरोना परीक्षण गर्दा उपमहानगरको स्रोतले नपुग्ने भएकाले आफैँ परीक्षण गर्न सक्षमले आफैँ गर्न अनुरोध गरिन् । उपमहानगरले एक जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा प्रतिव्यक्ति ३ हजार खर्च हुने बताइन् । छलफलमा नागरिक समाज इटहरीका अध्यक्ष सन्त डुम्जनले अन्य ठाउँमा कोरोना परीक्षण भइरहेको तर इटहरीमा मात्र रोकिएकाले चाँडो परीक्षण गर्न अनुरोध गरे । ‘धरान, विराटनगर र आसपासका अन्य ठाउँमा कोरोना परीक्षण भइरकेको छ । यहाँ मात्र किन रोकिएको हो ? उपमहानगरले परीक्षण नै गर्न नचाहेका हो की ?’, उनले प्रश्न गरे । साथै उनले उपमहानगरले सरकारको पछिल्लो मापदण्ड अनुसार भइरहेको परिक्षण जनताले थाहा नपाएको बताए ।
‘तपाईँले अहिले हामीले परीक्षण गराउन नसक्ने गरिब तथा विपन्नहरुको निशूल्क कोरोना परीक्षण गरिरको जानकारी गराउनु भयो । तर अहिलेसम्म यो कुरा इटहरीका ती गरिब तथा विपन्न परिवारलाई मात्र होइन हामीलाई पनि जानकारी छैन’, उनले भने । डुम्जनले कोरोना परीक्षणका लागि सरकारले मपदण्ड तयार पारेबमोजिक लक्षित वर्गको मात्र गर्नुपर्ने र नातावादमा परीक्षण गर्न नहुने बताए । ‘हामीले राहत वितरणमा नै देखेका थियौँ, हातमा सुनको बाला लगाएका, ३÷४ तल्ला घर भएकाहरुले पनि रहत लिए । तर कोरोना परीक्षणको क्रमममा त्यसो नहोस् । जो जो वास्तवमै गरिब तथा विपन्न हुन् उनीहरुको मात्र परीक्षण गरौँ । बरु हामी तपाईँहरुलाई सहयोग गर्न तयार छौँ’, उनले भने ।