इटहरीः बढ्दो कोरोना संक्रमणका कारण गम्भीर लक्षण सहितका बिरामीको संख्या बढिरहेको र खर्च अभावमा संक्रमितले ज्यान गुमाइरहेको अवस्थामा धनकुटाको महालक्ष्मी नगरपालिकाले त्यस्ता संक्रमितलाई राहत पुग्ने कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्रका गम्भीर लक्षण सहितका संक्रमितलाई आईसीयूमा उपचारार्थ २५ हजार रुपैयाँ सहयोग दिने भएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएका संक्रमितलाई परीक्षणमा लाग्ने खर्चको ५० प्रतिशत रकम नगरपालिकाले नै उपलब्ध गराउने भएको छ । यसका साथै, नगरपालिकाले स्वाब संकलनमा प्रयोग हुने पीसीआर किट खरिदको खर्चसमेत आफ्नै तर्फबाट व्यहोर्ने भएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सूर्य सुवेदीले बताए ।
उनका अनुसार गम्भीर बिरामीलाई अस्प्ताल पुर्याउन लाग्ने एम्बुलेन्स खर्च तथा मृतकको शव व्यवस्थापनमा लाग्ने शववाहन खर्चसमेत नगरपालिकाले नै दिने भएको छ । जिल्ला अस्पतालमा स्तरीय उपचार तथा आईसीयू सेवा नहुँदा उपचारार्थ अन्य जिल्लामा जान बाध्य नागरिकलाई नगरपालिकाले उपलब्ध गराएको सहयोगबाट राहत मिल्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।