इटहरीः बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशसन कार्यालय मोरङले जिल्लामा यस वर्ष तिहार तथा छठ पर्वमा हुने जमघटजन्य गतिविधि रोक्न जिल्लामा निषेधाज्ञा जारी गर्ने भएको छ ।

सामूहिक गतिविधिलाई नियन्त्रण गर्न दसैँमा जस्तै तिहार तथा छठका अवसरमा पनि निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । निषेधाज्ञाका कारण यस वर्षमा जिल्लामा विगतमा जस्तो देउसी भैलो खेल्न नपाइने भएको छ । चाडपर्वका अवसरमा सामूहिक रुपमा भेला हुँदा संक्रमण नियन्त्रणबाहिर जान सक्ने भन्दै उनले सुरक्षा बलको सहयोगमा भिडभाड नियन्त्रण गरिने बताए ।

उनका अनुसार नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्दै संयमित भएर चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गर्दै आएको छ ।