इटहरीः मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको देखिएको छ ।

आज शुक्रबार बिहानको तथ्याङ्क अनुसार हालसम्म महानगरका १९ ओटा वडामा कुल पाँच हजार पाँच सय ८६ जना संक्रमित पहिचान भएका छन् । जसमध्ये वडा नम्बर ३ मा संक्रमितको संख्या सबैभन्दा बढी रहेको छ । ३ नम्बर वडामा हालसम्म ६ सय ९२ जनामा संक्रमण पुष्टि भइसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । यसैगरी, वडा नम्बर १ मा संक्रमितको संख्या चार सय ५६ रहेको महाशाखाको भनाइ छ । दुई नम्बर वडामा तीन सय ६२ जनामा संक्रमण पुष्टि भएको जनाउँदै महाशाखाले चार नम्बर वडामा संक्रमितको कुल संख्या पाँच सय ४१ जना रहेको उल्लेख गरेको छ ।

५ नम्बर वडामा चार सय ६७ जना, ६ नम्बर वडामा दुई सय ७१ जना, ७ नम्बर वडामा तीन सय २६ जना, ८ नम्बर वडामा चार सय ३४ जना, ९ नम्बर वडामा एक सय ७६ जना तथा १० नम्बर वडामा दुई सय ७७ जनामा संक्रमण पुष्टि भएको महानगरको तथ्याङ्क छ । यसैगरी, ११ नम्बर वडामा दुई सय ७८ जना, १२ नम्बर वडामा तीन सय ८५ जना, १३ नम्बर वडामा एक सय ३० जना, १४ नम्बर वडामा ९० जना, १५ नम्बर वडामा एक सय ८० जना, १६ नम्बर वडामा ६८ जना, १७ नम्बर वडामा ३३ जना, १८ नम्बर वडामा १४ जनाका साथै १९ नम्बर वडामा ५९ जना संक्रमित रहेको महानगरको तथ्याङ्कले देखाएको छ । तीन सय जना संक्रमितको वडा खुल्न नसकेको बताउँदै महानगरपालिकाले संक्रमितमध्ये अधिकांश निको भएको जनाएको छ ।