इटहरीः मोरङको विराटनगरका दुई अस्पतालमा उपचारका क्रममा आज शुक्रबार बिहान दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा धनकुटा नगरपालिका ४ घर भएकी ३२ वर्षीया र विराटनगर घर भएकी ५१ वर्षीया महिला रहेका छन् । स्वासप्रस्वासको समस्याका कारण उपचारार्थ न्युरो अस्पताल पुगेकी विराटनगरकी महिलामा गत बुधबार कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा उपचार सुरु गरिएकोमा उनको आज बिहान करिब ८ बजे उपचारका क्रममा ज्यान गएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

यसैगरी, हिजो बिहीबार साँझ गरिएको पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भई उपचारार्थ कोसी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना भएकी धनकुटाकी महिलाको उपचारका क्रममा आज बिहान करिब ८ः१५ बजे ज्यान गएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मृतक महिलामा स्वासप्रस्वासको समस्या देखिएको थियो ।