इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बालकसहित दुई जना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा उदयपुरको कटारी नगरपालिका घर भएका १४ वर्षीय बालक तथा सुनसरीको धरान उपमहानगरपालिका १२ घर भएकी ७८ वर्षीया महिला रहेको प्रतिष्ठनका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार गत कात्तिक १२ गते मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा गरिएको पीसीआर परीक्षणाबाट संक्रमण पुष्टि भएका बालकलाई कात्तिक १६ गते प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा रिफर गरिएकोमा सोही दिनदेखि प्रतिष्ठानमा उपचाररत बालकको आज शुक्रबार बिहान ९ः५० बजे ज्यान गएको हो ।
यसैगरी, हिजो बिहीबार संक्रमण पुष्टि भई उपचारार्थ प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएकी धरानकी महिलाको उपचारका क्रममा हिजो राति करिब ११ बजे ज्यान गएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।