इटहरीः झापामा हालसम्म कोरोना संक्रमणका कारण ५८ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा हालसम्म कुल दुई हजार तीन सय ६२ जना संक्रमितको पहिचान भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ३० हजार चार सय ४१ जनाको स्वाब परीक्षणको नतिजापछि सो संख्यामा संक्रमित पहिचान भएको जनाउँदै कार्यालयले संक्रमितमध्ये चार सय ४२ जना निको भएको बताएको छ ।

कार्यालयका फोकल पर्सन जीवन चौलागईँका अनुसार हाल जिल्लामा आठ सय ९३ जना सक्रिय संक्रमितहरु रहेका छन् । संक्रमणबाट दमक नगरपालिका जिल्लामा सबैभन्दा बढी प्रभावित भएको चौलागाईँले बताए । उनका अनुसार दमकमा हालसम्म सर्वाधिक पाँच सय ५८ जना संक्रमितको पहिचान भएकोमा सोमध्ये २० जनाले ज्यान गुमाएका छन् । कार्यालयको तथ्याङ्क अनुसार भद्रपुर नगरपालिकामा दुई सय ९२, मेचीनगरमा दुई सय ७८, बिर्तामोडमा तीन सय ८७, कन्काईमा एक सय ४१, अर्जुनधारामा ८४, गौरादहमा एक सय तीन, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा एक सय ४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ जना संक्रमित रहेका छन् ।