इटहरीः पूर्वी नेपालका तीन पहाडी जिल्लाहरु खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका नागरिक स्वच्छ खानेपानीको उपभोग गर्न पाउने अधिकारबाट बञ्चित भएका छन् ।
सरकारले खानेपानीको आपूर्तिका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा चासो नदिँदा यी जिल्लामा रहेका ४३ जनसंख्या अस्वस्थकर पानी पिउन बाध्य भएका हुन् । खोटाङमा १५.०७ प्रतिशत नागरिक खानेपानी सेवाबाट बञ्चित भएका छन् भने सोलुखुम्बुमा स्वच्छ पानी उपभोग गर्न नपाउने जनसंख्या १६.८३ प्रतिशत रहेको छ । यसैगरी, ओखलढुङ्गाका १२ प्रतिशत जनसंख्यामा स्वच्छ पानी नपुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख विजयकुमार ठाकुरको भनाइ छ ।
यी तीनै जिल्लामा संघीय तथा प्रदेश सरकारले खानेपानी आपूर्तिका लागि विभिन्न योजना सञ्चालनमा ल्याएका छन् । ओखलढुङ्गामा मात्र संघीय सरकारका २४ र प्रदेश सरकारका ५४ ओटा खानेपानी विस्तारका योजना चलिरहेका छन् । यसैगरी, सोलुखुम्बुमा संघीय सरकारका १० र प्रदेश सरकारका ३४ गरी ४४ आयोजना सञ्चालित छन् भने खोटाङमा संघीय सरकारका ४५ तथा प्रदेश सरकारका ४७ गरी ९२ ओटा खानेपानी विस्तारका आयोजना सञ्चालनमा रहेका छन् । एक लाख ४३ हजार आठ सय ३२ जना जनसंख्या रहेको ओखलढुङ्मा एक लाख २३ हजार एक सय ७१ जनामा खानेपानीको पहुँच पुगेको छ भने २० हजार ६ सय १६ जना अद्यापी खानेपानीबाट बञ्चित रहेका छन् ।
यसैगरी, एक लाख पाँच हजार आठ सय ८६ जना कुल जनसंख्या रहेको सोलुखुम्बुमा खानेपानीको सुविधा ८८ हजार ६७ जनामा सीमित रहेको छ भने १७ हजार आठ सय १९ जनामा खानेपानी सेवा पुग्न सकेको छैन । यस्तै, दुई लाख ५० हजार दुई सय ४९ जनाको जनसंख्या रहेको खोटाङमा खानेपानी सेवा पाएका जनसंख्या दुई लाख १४ हजार दुई सय ५७ रहेको छ । सो जिल्लामा हाल ३५ हजार नौ सय ९२ जना खानेपानीबाट बञ्चित रहेको तथ्याङ्क छ ।