इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा सुनसरीको धरान उपमहानगरपालिका १६ घर भएकी ८१ वर्षीया र सोही उपमहानगरपालिका ९ घर भएकी ६७ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार गत कात्तिक १९ गते संक्रमण पुष्टि भई उपचारार्थ २० गते कोभिड अस्पताल भर्ना भएकी धरान १६ की महिलालाई भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा उनको आज बिहान २ बजे ज्यान गएको हो । सहप्रवक्ता श्रेष्ठले मृतक महिलामा उच्च रक्तचापको दीर्घकालीन समस्या रहेको जानकारी दिए ।
यसैगरी, कात्तिक १८ गते प्रतिष्ठानमा भर्ना भई सोको भोलिपल्ट संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा सारिएकी धरान ९ की महिलाको उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको सहप्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार मृतक महिलामा लामो समयदेखि मधुमेह र मानसिक समस्या रहेको थियो ।