इटहरीः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ स्थित सिँवा माध्यमिक विद्यालयले आफ्नै प्राङ्गणमा स्थापित सूचना प्रविधि केन्द्रको आज शनिबार बिहान विधिवत् उद्घाटन सम्पन्न गरेको छ ।

केन्द्रका लागि आवश्यक प्रविधिमैत्री शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग पुर्याएका संघीय सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको उपस्थितिमा विद्यालयले उद्घाटन समारोह सम्पन्न गरेको हो । विद्यालय प्रशासनका अनुसार भट्टराईले केन्द्र स्थापनार्थ एक करोड रुपैयाँ बराबरका विद्युतीय शैक्षिक सामग्री उपलब्ध गराएका थिए ।

प्रशासनका अनुसार सो केन्द्रमा २४ वटा कम्प्युटर, प्रिन्टर, इन्टरनेटलगायत विभिन्न प्रविधिमैत्री सामग्री रहेका छन् । विद्यालयको संरक्षणका लागि पर्खाल निर्माण तथा छात्रावास र विज्ञान प्रयोगशालाको अभाव रहेको भन्दै विद्यालयले ती सबै सुविधा उपलब्ध गराइदिन मन्त्री भट्टराईलाई आग्रह गरेको छ ।