इटहरीः मोरङको विराटनगर महानगरपालिकामा प्राविधिक शिक्षा सञ्चालनका लागि क्षिक्षालय सञ्चालनमा आएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहयोगमा महानगरपालिकाले सञ्चालन गरेको शिक्षालयले तीन ओटा विद्यालयमा प्राविधिक शिक्षाको कक्षा चलाउने भएको छ । महानगरका शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाका अनुसार जनता नमुना माध्यमिक विद्यालय, आदर्श बालिका माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्ने महानगरको तयारी छ । विद्यार्थी छनौटसमेत भइसकेको खतिवडाको भनाइ छ ।

महानगरले सीटीईभीटीईबाट डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङ, डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ विषयको कक्षा सञ्चालनका लागि सम्बन्धन लिएको खतिवडाले जानकारी दिए । सिभिल र आर्टिटेक्चर इन्जिनियरिङको विषयको कक्षा नमुना माध्यमिक विद्यालयमा हुने बताउँदै उनले आदर्श बालिका माविमा जियोमेट्रिक्स र आर्किटेक्चर इन्जिनियरिङको कक्षा सञ्चालन हुने स्पष्ट पारे ।

वार्षिक ५० हजार रुपैयाँ शुल्क निर्धारण गरी कोटा प्रणाली अनुसार भर्ना लिएको महानगरले प्रवेश परिक्षाको नतिजासमेत सार्वजनिक गरिसकेको खतिवडाले बताए । प्रत्येक विषयमा ४८ जना गरी कुल एक सय ९२ विद्यार्थी प्राविधिक शिक्षालयमा भर्ना भएको उनले जानकारी दिए । प्राविधिक शिक्षाको कुल अवधि तीन वर्षको हुने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका मेयर भिम पराजुलीको सक्रियतामा शिक्षालय सञ्चालनमा आएको हो ।