इटहरीः भारत सरकारले कोरोना संक्रमणको बढ्दो संख्यालाई मध्यनजर गर्दै नेपाल सरकारलाई आज आइतबार २८ ओटा भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित एक समाराहका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत क्वात्राले दुवै देशबीच सौहार्दपूर्ण सम्बन्ध रहेको र यो एक अर्काका लागि उत्तिकै आवश्यक रहेको धारणा राखे । सहकार्यको परम्परालाई निरन्तरता दिँदै भारत सरकार र भारतीय जनताले नेपाललाई सहयोग उपलब्ध गराउँदै आएको उनको भनाइ थियो । कोभिड संक्रमणका बीच पनि आपसी सहयोग निरन्तर रहेको उल्लेख गर्दै उनले यसले आगामी दिनमा पनि निरन्तरता पाउने बताए ।

यसैगरी, सोही समारोहमा बोल्दै स्वास्थ्यमन्त्री ढकालले आफ्नो प्रतिकूल अवस्थाका बीच नेपाललाई सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए । उनले संक्रमणका कारण गम्भीर प्रकृतिका बिरामीको संख्या बढिरहेकाले त्यस्ता संक्रमितको उपचारमा भेन्टिलेटरको प्रयोगले मदत पुग्ने धारणा राखे । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म नेपालमा एक लाख ९४ हजार चार सय ५३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म एक लाख ५७ हजार नौ सय २६ जना निको भएका छन् ।