इटहरीः मोरङको केराबारी गाउँपालिका ३ घर भएका दुई जना सहोदर दाजुभाइको कोरोना संक्रमणका कारण ६ दिनको अन्तरालमा ज्यान गएको छ ।

मृत्यु हुनेहरुमा ५९ वर्षीय दाजु राजकुमार नेपाल र ५७ वर्षीय भाइ देवकुमार नेपाल रहेको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले बताए । गत कात्तिक ७ गते संक्रमण पुष्टि भई उपचारार्थ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको त्यहाँ उपचार सम्भव नभएपछि मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज लगिएका दाजु राजकुमारको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

समाजसेवामा सक्रिय राजकुमारले २०५४ सालमा केराबारी गाउँपालिका ४ को वडाध्यक्षका रुपमा पनि जिम्मेवारी सम्हालेको वडाध्यक्ष कार्कीको भनाइ छ । यसैगरी, भाइ देवकुमारको कोरोना संक्रमणकै कारण उपचाररत अवस्थामा बीपी प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा कात्तिक १८ गते ज्यान गएको हो । शिक्षण पेसामा आबद्ध रहेका देवकुमार शिक्षक महासंघको केराबारी इकाइ अध्यक्षसमेत रहेको वडाध्यक्ष कार्कीले जानकारी दिए । भतिजी पूजा नेपालले कोरोना कारण दुई ठूलो बुबाको ६ दिनको अन्तरालमा मृत्यु भएको बताइन् ।