इटहरीः मोरङका विभिन्न अस्पतालमा दुई पुरुष र एक महिला गरी तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रदेश १ का झापा र उदयपुरका साथै प्रदेश २ को सिरहा घर भएका एक एक जना संक्रमितको उपचारका क्रममा ज्यान गएको हो । बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार गत शनिबार कोरोना संक्रमण देखिएपछि उपचारार्थ अस्पतालको आइसोलेसनमा भर्ना भएकी उदयपुरको त्रियुगा नगरपालिका ११ घर भएकी ६५ वर्षीया महिलाको आज बिहान ६ बजे उपचारका क्रममा ज्यान गएको छ ।

यसैगरी, गत कात्तिक ९ गते संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएका झापाको दमक नगरपालिका ११ घर भएका ४२ वर्षीय पुरुषको आज बिहान करिब ७ बजे उपचारका क्रममा ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ । यसैगरी, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत सिरहा घर भएका ६५ वर्षीय पुरुषको गएराति १० बजे उपचारका क्रममा ज्यान गएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । दाहालका अनुसार संक्रमण पुष्टि भएलगत्तै उनलाई कात्तिक १२ गते अस्प्ताल भर्ना गरिएको थियो ।