इटहरीः कोरोना महामारीका कारण लामो समयदेखि अनिश्चित बनेको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनका लागि अनलाइन प्रविधि प्रयोग नगरिने भएको छ ।
परीक्षा सञ्चालनका लागि जिम्मेवार निकाय राष्ट्रिय परीक्षा बोर्ड कार्यविधि अभाव देखाएर अनलाइन परीक्षा सञ्चालन गर्नबाट पन्छिएको हो । बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलका अनुसार अनलाइन परीक्षा सञ्चालनको विषय हाल कायम रहेको परीक्षा सञ्चालन कार्यविधिले नसमेटेकाले अनलाइन परीक्षा सञ्चालनको कुनै सम्भावना छैन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिएको समाचार आए पनि त्यसमा कुनै सत्यता नभएको उनको दाबी छ ।
आगामी मंसिर नौ गतेबाट परम्परागत प्रणाली अनुसार नै परीक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको बोर्डले परीक्षा सञ्चालनका लागि होम सेन्टरमा नै परीक्षा लिनेगरी चार हजार एक सय पाँच परीक्षा केन्द्र निर्धारण गरेको पनि अध्यक्ष पौडेलले बताए । प्रश्नपत्र मुद्रणजस्ता परीक्षाका सबै तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले बोर्डले यस वर्ष कुल पूर्णाङ्कको ४० प्रतिशत अंकका लागि मात्र लिखित परीक्षा लिने जानकारी दिए ।
कक्षा ११ मा प्राप्त गरेको अङ्कका आधारमा ४० प्रतिशत मुल्याङ्कन गरिने तथा विद्यालयको आन्तरिक मुल्याङ्कनका आधारमा २० प्रतिशत अंक प्रदान गरिने पनि उनले स्पष्ट पारे । देशभर चार लाख ३२ हजार विद्यार्थी कक्षा १२ को परीक्षाको प्रतिक्षामा रहँदा स्नातक तहको भर्ना प्रकृयासमेत अवरुद्ध बनेको छ ।