इटहरीः मोरङको विराटनगर महानगरपालिका १ घर भएका नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलमा आबद्ध नेता राजु गुप्ताको ३७ वर्षको उमेरमा आज मंगलबार कोरोना संक्रमणबाट ज्यान गएको छ ।

कोरोना संक्रमित पुष्टि भई केही दिनअघि उपचारार्थ कोसी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्दमा भर्ना भएका गुप्ताको उपचारका क्रममा आज बिहान १०ः३० बजे ज्यान गएको कोभिड उपचार केन्द्रका प्रमुख डा.दीपक सिग्देलले बताए । दुई कार्यकालसम्म नेपाल विद्यार्थी संघको मोरङ जिल्ला सदस्यमा निर्वाचित भएका गुप्ता हाल तरुण दलको महाधिवेशन प्रतिनिधिका रुपमा कार्यरत रहेको विद्यार्थी नेता तथा गुप्ताका छिमेकी सेन्टो महतले बताए ।

सामाजिक कार्यमा सक्रिय रहने गुप्ता केही समयअघि कोसी अस्पतालमा आफ्नो संगठनका तर्फबाट निःशुल्क खाना खुवाउने अभियानमासमेत सहभागी भएको महतको भनाइ छ ।