इटहरीःमोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आज मंगलबार एकैदिन पाँच जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

 मृत्यु हुनेमा झापाको गौरादह ५ घर भएका ६५ वर्षीय, तेह्रथुमको म्याङ्लुङ १० घर भएका ५७ वर्षीय, झापाको हल्दिबारी ४ घर भएका ७० वर्षीय, मोरङको रतुवामाई नगरपालिका ९ घर भएका ७७ वर्षीय र उदयपुरको त्रियुगा नगरपालिका ३ घर भएका २१ वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार स्वासप्रस्वासको समस्याबाट पीडित गाौरादहका पुरुषमा कात्तिक १३ गते संक्रमण पुष्टि भई उपचारार्थ अस्पताल भर्ना गरिएकोमा उनको आज बिहान ८ः३० बजे उपचारका क्रममा ज्यान गएको हो ।

यसैगरी, कात्तिक २२ गते अस्पताल भर्ना भएका तेह्रथुमका पुरुषको उपचारका क्रममा आज बिहान ८ः३० बजे ज्यान गएको दाहालले बताए । यस्तै, गत कात्तिक १५ गते संक्रमण पुष्टि भई उपचारार्थ अस्पताल भर्ना भएका झापाका पुरुषको आज बिहान ५ः४५ बजे उपचारका क्रममा ज्यान गएको प्रबन्धक दाहालले बताए । यसैगरी, प्रबन्धक दाहालले कात्तिक २२ गते संक्रमण पुष्टि भई उपचाररत रहेका मोरङको रतुवामाईका पुरुषको उपचारका क्रममा आज बिहान ६ः३० बजे ज्यान गएको बताए । यसका साथै, सोही अस्पतालमा कात्तिक २२ गतेदेखि उपचाररत उदयपुरका संक्रमितको पनि उपचारका क्रममा आज बिहान ५ः३० बजे ज्यान गएको दाहालले उल्लेख गरे ।