इटहरीः कोरोना संक्रमण व्यापक रुपमा फैलिएपछि संक्रमितको उपचारका लागि आवश्यक पर्ने मानवीय अक्सिजनको अभाव देखिन थालेको छ ।
अक्सिजनको अभावका कारण संक्रमितको उपचारमा समस्या देखिएको छ । मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा सञ्चालित पाँच ओटा अक्सिजन उद्योगहरुले चौबीसै घण्टा उद्योग सञ्चालनमा राखी उत्पादनलाई निरन्तरता दिइरहँदासमेत यस क्षेत्रका कोभिड अस्पतालहरुमा अक्सिजनको आपूर्ति सहज हुन सकेको छैन । साविकभन्दा तेब्बर मात्रामा अक्सिजनको माग हुन थालेपछि आपूर्ति प्रभावित भएको हिमालय अक्सिजन उद्योगको अधिकृत अक्सिजन बिक्रेता भाजुरत्न मोटर्सका प्रबन्धक केदार श्रेष्ठले बताए । पहिले मासिक करिब एक सय पचास सिलिन्डरमा सिमित रहेको माग अहिले तीन सय सिलिन्डरभन्दा बढी भएपछि धान्न कठिन भएको उनको भनाइ छ ।
अक्सिजनको उत्पादन पर्याप्त मात्रामा भइरहेको बताउँदै उनले सिलिन्डर अभावमा बजारीकरणमा समस्या आएको उल्लेख गरे । ‘कोरोनाका बिरामीलाई अक्सिजन पहिलो आवश्यकता हुने भएकाले माग धेरै छ,’ उनले भने । अक्सिजन उत्पादनमा सक्रिय विनायक अक्सिजन उद्योगकी कर्मचारी तारा अधिकारीले नयाँ सिलिन्डर नहुँदा माग माग अनुसार आपूर्ति गर्न उद्योगले नसकेको बताइन् । चीनबाट सिलिन्डर ल्याई उत्पादनको कार्यमा प्रयोग गर्ने उद्योगहरुले अत्यधिक खर्च र झन्झटिलो आयात प्रक्रियाका कारण सिलिन्डर थप गर्न सकेका छैनन् । प्रतिकन्टेनर सिलिन्डर आयातमा एक करोड ५० लाखभन्दा बढी खर्च हुने उनीहरुको जिकीर छ ।
कोभिड संक्रमणका कारण स्वासप्रस्वासमा समस्या देखिने र सोको उपचारमा अक्सिजन अनिवार्य आवश्यक पर्ने हुँदा अक्सिजनको मागमा अस्वभाविक वृद्धि भएको कोसी अस्प्तालका स्वास्थ्यकर्मी रघुनन्दन अधिकारीले बताए । उनका अनुसार हाल अक्सिजनको माग ५० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । विराटनगरमा अक्सिजन उत्पादनमा विनायक अक्सिजन, हिमालय अक्सिजन, दुर्गा अक्सिजन, पाथीभरा अक्सिजन र मारुती अक्सिजन उद्योगले काम गरिरहेका छन् । यीनै उद्योगका उत्पादनमाफृत् यस क्षेत्रका अस्पतालको माग धानिँदै आएको छ ।