इटहरीः मोरङको उर्लाबारी नगरपालिकाले विपन्न समुदायका मानिसको उपचारमा सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।
गत सोमबार बसेको नगरपालिकाको बैठकले उपचार खर्चको भार थेग्न नसक्ने अतिविपन्न वर्गलाई उपचार खर्चका लागि २० हजार रुपैयाँसम्म उपलब्ध गराउने निर्णय गरेको मेयर खड्ग फागोले बताए । उनका अनुसार प्रारम्भिक चरणमा अतिविपन्न परिवारलाई उपचारमा सहुलियत दिएकोमा आगामी दिनमा यसलाई विस्तार गरी नगरपालिकाले नगरका सबै नागरिकको उपचार निःशुल्क गर्ने लक्ष्य लिएको छ । जुनसुकै रोगबाट पीडित विपन्न वर्गले सहुलियत उपभोग गर्न पाउने मेयर फागोको भनाइ छ ।
कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन निर्माणको तयारीमा जुटेको नगरपालिकाले नगर क्षेत्रका संक्रमित नागरिकलाई आवश्यक अक्सिजनको निःशुल्क आपूर्तिको व्यवस्थाका साथै विपन्न वर्गलाई एक महिनाको रासनसमेत वितरण गर्ने जनाएको छ । कोरोना संक्रमणका कारण नगरका दुई सय ५० जनाभन्दा बढी व्यक्ति संक्रमित भएकोमा हालसम्म पाँच जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । नगरपालिकाले संक्रमितको पहिचानका लागि निःशुल्क पीसीआर परीक्षण जारी राखेको छ ।