इटहरीः मोरङमा पछिल्लो १२ घन्टाको अवधिमा सुनसरीका एक जनासहित पाँच जना कोरोना संक्रमितको ज्यान गएको छ ।

मृतकहरुमा सुनसरीका एकका साथै झापा र मोरङका दुई दुई जना रहेका छन् । पाँचमध्ये तीन संक्रमितको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताएका छन् । उनका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका ३ घर भएकी ४० वर्षीया महिलालाई स्वासप्रस्वासमा आएको समस्याका कारण हिजो बुधबार उपचारार्थ अस्पताल भर्ना गरिएकोमा सोही साँझ गरिएको पीसीआर परीक्षणबाट संक्रमित देखिएकी महिलाको आइसोलेसनमा उपचार भइरहेकोमा आज बिहान ८ः१० बजे उनको ज्यान गएको हो ।

यसैगरी, प्रबन्धक दाहालले कात्तिक ४ गते नोबेलमा भर्ना भएकी झापाको गौरादह २ घर भएकी महिलाको उपचारका क्रममा आज बिहीबार बिहान करिब ८ बजे ज्यान गएको बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणबाट उनलाई संक्रमण भएको पुष्टि भएको थियो । यसैगरी, कात्तिक १७ गते संक्रमण पुष्टि भई स्वासप्रस्वासमा आएको समस्याका कारण उपचारार्थ भर्ना भएका मोरङको रंगेली नगरपालिका–८ घर भएका ५५ वर्षीय पुरुषलाई आइसोलेसनमा राखी उपचार भइरहेकोमा उनको आज बिहान करिब ७ः३० बजे ज्यान गएको दाहालले बताए ।

यता, मोरङकै बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान उपचारार्थ भर्ना भएकी झापाको दमक नगरपालिका ६ घर भएकी ४६ वर्षीया महिलाको सोही दिन राति करिब ८ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उपचारार्थ आइसोलेसनमा ल्याइएको केहीबेरमै महिलाको ज्यान गएको उनको भनाइ छ ।

यसैगरी, गत कात्तिक १५ गते संक्रमण पुष्टि भई घरमै आइसोलेसनमा बसेकी मोरङको उर्लाबारी– ८ घर भएकी ४५ वर्षीया महिलाको गएराति होम आइसोलेसनमै ज्यान गएको प्रहरीले जनाएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लाने तयारी गरिएकोमा गएराति १० बजे महिलाको ज्यान गएको प्रहरीको भनाइ छ ।