इटहरीः सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालबाट आठ सय ९४ जना कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किएका छन् ।
प्रतिष्ठानका सहायक निर्देशक डा.प्रमोद बरालका अनुसार बिहीबारसम्म कोभिड १९ अस्पतालबाट आठ सय ९४ जनाले कोरोना जितेर घर फर्किएका हुन् । उनले अस्पतालमा हालसम्म एक हजार ७६ जना संक्रमित आएको बताए । उनका अनुसार सो अस्पतालमा मात्रै ९६ जना संक्रमितको मृत्यु भएको छ ।यस्तै प्रतिष्ठानमा रहेको स्वाब संकलन केन्द्रमा हालसम्म ६६ जार चार सय ५५ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । तीमध्ये ६ हजार पाँच सय ९३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
बाँकी ५८ हजार नौ सय ८१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बुधबार मात्र बीपी प्रतिष्ठानमा तीन सय ५१ जनाको स्वाब परीक्षण गरिएकोमा ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल कोभिड १९ अस्पतालमा पोजेटिभ देखिएका ३३ जना, कोरोना संक्रमणको आशंका गरिएका ६ जना र आइसोलेसनमा ११ जना बिरामी रहेका छन् ।