इटहरीः मोरङको विराटनगरस्थित विराट नर्सिङ होमले अस्पतालमा उपचारपछि ज्यान गुमाएका कोरोना संक्रमित पुरुषको शव रोकेको छ ।
गत कात्तिक १७ गते उपचारार्थ भर्ना भई उपचारका क्रममा २५ गते ज्यान गुमाएका सिरहाको विष्णुपुर गाउँपालिका २ घर भएका ३५ वर्षीय अरुणकुमार यादवको उपचारमा लागेको खर्च तिर्न बाँकी रहेको भन्दै अस्पतालले शव रोकेको मृतककी पत्नि प्रेमशीला यादवले बताइन् । उनका अनुसार कोरोना संक्रमणपछि अस्पताल ल्याइएका उनका पतिलाई असतालले आईसीयू तथा भेन्टिलेटरमा राखी उपचार गरेबापत चार लाख ७७ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने बताएकोमा शुल्क तिर्न नसकेपछि शव उठाउन नदिएको हो ।
ऋण लिएर एक लाख चार हजार रुपैयाँ धरौटी रकम बुझाएकी उनले दैनिक ५० हजार रुपैयाँ भेन्टिलेटर बेड चार्जका कारण उपचार खर्च बुझाउन नसकेको बताएकी छन् । अस्पतालले शव दिन इन्कार गरेपछि रित्तो हात घर फर्कन बाध्य भएकी प्रेमशीलाले आफन्त तथा छिमेकीमार्फत् शव निकाल्न गरेको प्रयासका बाबजुद अस्पतालले शव नदिएपछि उनको परिवारलाई शोकसँगै आर्थिक तनाव आइलागेको हो । विगत चार दिनदेखि शव रोकी राखेको अस्पतालले कोरोना उपचारको खर्च सरकारले तिर्ने भएकाले शव आफन्तको जिम्मा लगाउन भन्दै जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रलाई पनि अटेर गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाद्वारा जारी पत्र अनुसार शव बुझाउनुपर्ने अस्पतालले सो नगरी बक्यौता उठाइदिन भन्दै जिल्ला प्रशासन कार्यालयका नाममा अर्को पत्र पठाएको छ । अस्पतालले भेन्टिलेटरमा राखिने संक्रमितके उपचार दैनिक १५ रुपैयाँमा गर्नुपर्ने सरकारी मापदण्डको ठाडो उल्लङ्घन गर्दै दैनिक ५० हजार शुल्क असुली गरिरहेको छ । गत साउन पहिलो साता संक्रमित पुष्टि देखिएका अस्पतालका निर्देशक डा.ज्ञानेन्द्रमानसिंह कार्कीको उपचार निःशुल्क गरेकोमा सोही अस्पतालले शुल्क असुलीकै लागि शव रोकेको हो ।
अस्पतालले मनोमानी शुल्क उठाएको भन्दै प्रमुख जिल्ला अधिकारी निरौलाले संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने बताए । अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले जिल्ला प्रशासन कार्यालयबाट पत्र प्राप्त भएको स्वीकार्दै शुल्क भुक्तान नगरेसम्म शव भने लैजान नदिने बताए । मृतकका आफन्तले शक्ति प्रदर्शन गर्न खोजेको उनको आरोप छ ।