इटहरीः मोरङको विराटनगरस्थित न्यूरो अस्पतालद्वारा सञ्चालित कोभिड उपचार केन्द्रमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोरङको ग्रामथान गाउँपालिका– १ घर भएका ५२ वर्षीय, मोरङकै मिक्लाजुङ गाउँपालिका ९ घर भएका ६८ वर्षीय र झापाको गौरादह गाउँपालिका ४ घर भएका ७० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ । गत कात्तिक २३ संक्रमित पुष्टि भई भोलिपल्ट उपचारका लागि भर्ना भएका ग्रामथानका पुरुषको उपचारका क्रममा हिजो साँझ ५ः१५ बजे अस्पतालको आइसोलेसनमा ज्यान गएको अस्पताल प्रशासनको भनाइ छ ।
यसैगरी, मिक्लाजुङका पुरुषमा कात्तिक २७ गते संक्रमण देखिएपछि सोही दिन उपचारार्थ अस्पताल भर्ना भएका उनको उपचारका क्रममा हिजो साँझ ५ः३० बजे ज्यान गएको प्रशासनले जानकारी दिएको छ । साथै, झापाका पुरुषमा कात्तिक २५ गते संक्रमण देखिएपछि सोही दिन उपचारार्थ भर्ना भएकोमा उनको उपचारका क्रममा गएराति ८ बजे ज्यान गएको अस्पताल प्रशासनले उल्लेख गरेको छ ।