इटहरीः चिकित्सा शिक्षा सुधारका लागि सरकारलाई दबाब दिन पटक पटक आमरण अनसन बसेका डा.गोविन्द केसीले सरकारी खर्चमा उपचार गराउन अस्वीकार गरेका छन् ।
गत बिहीबार गरिएको पीसीआर परिक्षणको नतिजा अनुसार शुक्रबार कोरोना संक्रमण पुष्टि भई उपचारार्थ काठमांडौको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हाडजोर्नी विशेषञ डा.केसीले व्यक्ति विशेषको उपचार खर्च व्यहोर्न छोडेर देशभरका विपन्न नागरिकको स्वास्थ्य उपचारको अधिकारको प्रत्याभूीत गर्नमा ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिँदै आफ्नो उपचार खर्च आफैँले व्यहोर्ने बताएका हुन् । केसीले विज्ञप्ति जारी उपचार खर्च सरकारबाट नलिने जानकारी दिएका छन् ।
आफूले पटक पटकको सत्याग्रहबाट उठाउँदै आएका मागको सम्बोधन गरिदिए देशभरका विपन्न नागरिकसम्म स्तरीय स्वास्थ्य सेवाको पहुँच पुगी स्तरीय स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाको लाभ लिन सक्ने बताउँदै डा.केसीले १९ औँ सत्याग्रहका क्रममा सरकारले पूरा गर्ने प्रतिबद्धता जनाएका आफ्ना मागको सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
साथै उनले आफ्नो सिघ्र स्वास्थ्भ्यलाभको कामना गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवादसमेत दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ट्वीटमार्फत् उपचाररत डा.केसीको उपचार खर्च सरकारले व्यहोर्ने बताउँदै उनको सिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । सर्वोच्च अदालतको आदेशपछि सरकारले सबै कोरोना संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले केसीको उपचार खर्च व्यहोर्ने भन्दै ट्वीट गरेका हुन् ।