इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ३ घर भएकी ४४ वर्षीया महिला र धनकुटाको भेडेटार ८ घर भएका ७२ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार आजै संक्रमण पुष्टि भएपछि उपचारार्थ प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएकी सुनसरीकी महिलाको उपचारका क्रममा बिहान ९ः१५ बजे ज्यान गएको हो ।
मृतक महिला मृगौलाको दीर्घकालीन रोगबाट पीडित रहेको सहपवक्ता श्रेष्ठले बताए । यसैगरी, धनकुटाका पुरुष हिजो प्रतिष्ठानमा भर्ना भई उपचारका क्रममा हिजै राति १०ः३० बजे उनको ज्यान गएकोमा मृत्युपछि आज आएको पीसीआर परीक्षणको नतिजाबाट उनी संक्रमित देखिएको श्रेष्ठको भनाइ छ ।