इटहरीः २ नम्बर प्रदेश सरकारले नागरिकको सुविधाका लागि सस्तो भाडा दरमा सार्वजनिक बस सेवा सुरु गर्ने भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयको मातहतमा रहने गरी सञ्चालन गर्न लागिएको सेवाका लागि पाँच ओटा बस खरिद गरिएको प्रदेश २ सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले बताए । उनका अनुसार प्रदेश सरकारले प्रदेशका नागरिकको सुविधाका लागि सस्तो भाडा दरमा बस सेवा सञ्चालन गर्नका लागि बस खरिद गरिएको हो ।

खरिद गरिएका सबै बसहरु धनुषाको मिथिला नगरपालिकाअन्तर्गत ढल्केबरस्थित सिप्रदी ट्रेडिङको भवनमा राखिएको मन्त्री सोनलको भनाइ छ । सरकारले केही दिनभित्रै बस सेवा सञ्चालन प्रारम्भ गर्ने मन्त्री सोनलले स्पष्ट पारे । कुल तीन करोड ३९ लाख ७५ हजार रुपेयाँको लागतमा खरिद गरिएका बसहरुमध्ये दुई ओटा जनकपुर-वीरगञ्ज, दुई ओटा जनकपुर-राजविराज र एउटा राजविराज-वीरगञ्ज रुटमा सञ्चालन हुने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।