इटहरीः सुनसरीको इटहरीबाट पक्राउ परेका एक पत्रकारसहित आठ जना जुवाडेको आज म्याद थप गरिएको छ ।
मंसिर १ गते राति रुद्राक्ष पार्टी प्यालेसबाट पक्राउ परेकाहरुलाई आज सुनसरी प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखेको हो । नगद दुई लाख ८० हजार दुई सय ५५ रुपैयासहित पक्राउ परेका इटहरीका पत्रकार धनबहादुर पुरीसहित दिलकुमार पुरी, मुकेश बस्नेत, नबिन गुरुङ, भक्तबहादुर पुरी, नारायण गिरी, हरिराम बानियाँ र विष्णु बास्तोलाको तिहारको सार्वजनिक बिदा परेका कारण म्याद थप हुन सकेको थिएन । पक्राउ परेका बास्तोला दशै अघि बजार लन्च भएको प्रिसेस वाइनका मालिक हुन् । उनि पत्रकार पुरीकै बिषेश सिफारिसमा दशै अघि मात्रै नेपाली कांग्रेस इटहरी नगर समितिको सदस्य पदमा मनोनित भएको नेपाली कांग्रेसका एक नगर नेताले बताए ।
सात दिन भित्रमा प्रहरीले उक्त मुद्दा प्रशासनमा बुझाउने छ । बयान नसकिएको वा अन्य अनुसन्धान बाँकी रहे प्रहरीले थप म्याद माग्नसमेत सक्नेछ । पक्राउ परेका पत्रकार पुरीलाई छुटाउन प्रहरीलाई विभिन्न ठाउँबाट दबाब दिइएको स्रोतले बताएको छ । स्रोतका अनुसार उनलाई बचाउन इटहरीका होटल व्यवसायी, हार्डवेयर व्यवसायीका साथै पुरी आबद्ध रहेको नेपाल प्रेस युनियन लगायतका संगठनसमेतले दबाब दिइरहेका छन् । विगत केही दिनदेखि पत्रकार पुरी सहितको समूह विभिन्न ठाउँमा जुवा खेल्ने खेलाउने कार्यमा सक्रिय रहेको विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले उनीहरुविरुद्ध निगरानी बढाएको थियो ।
सूचना चुहावट हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीलाई समेत कुनै जानकारी नदिई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक विष्ण्ु बस्नेत सहितको सादा पोसाकमा रहेको प्रहरी टोलीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको हो । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अभियुक्तहरुको समूहले दुव्र्यवहारसमेत गरेको थियो । अभियुक्तहरुले घटनास्थलमा पुगेको प्रहरी टोलीलाई २५ हजार रुपैयाँ घुस दिएर घटना सामसुम पार्न खोजेको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले सामाजिक सञ्जालमार्फत् खुलासा गरेका थिए ।
त्यस क्रममा प्रहरीले घुस दिन खोज्ने अभियुक्तलाई थप्पडसमेत प्रहार गरेको स्रोतले बताएको छ । सुनसरी प्रहरीका अनुसार प्रहरीले अभियुक्तहरुलाई अनुसन्धानको लागि २५ दिन थुनामा राख्न पाउने कानुनी व्यवस्था रहेको छ । फैसला कार्यान्वयनको अधिकार जिल्ला प्रशासन कार्यालयमा निहित हुने र सो सम्वन्धमा प्रजिअले निर्णय गर्ने प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुको हकमा जुवा ऐन अन्र्तगतको मुद्धामा कारबाहीको प्रकृया अघि बढाइएको छ । जुवा ऐन अन्र्तगतको नयाँ व्यवस्था अनुसार पहिलो पटक खेल्ने वा खेलाउनेको हकमा तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । दोस्रो पटकको हकमा एक वषसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवना तोकिएको छ । जुवा खेल्न प्रयोग भएका साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति भने जफत हुने कानुनी व्यवस्था रहेको छ ।