इटहरीः झापाको दमक नगरपालिकाद्वारा सञ्चालित कोभिड १९ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका ९ घर भएका ७० वर्षीय पुरुष रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार गत कात्तिक १ गते मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा गरिएको पीसीआर परीक्षणबाट संक्रमित देखिएका पुरुषको त्यहाँ उपचार सम्भव नभएपछि झापाकै बी एण्ड सी अस्पताल लगिएको थियो ।
तर आर्थिक अभावका कारण सो अस्पतालमा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकोमा उनलाई हिजो साँझ नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पताल पुर्याइएको थियो । आइसोलेसनमा राखी उपचार थालिएका उनको आज बिहान उपचारका क्रममा ज्यान गएको नगरपालिकाले जनाएको छ ।