काठमाडौंः रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम इन्द्रेणीको बसाइमा “खोजी आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् ।

लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागि रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजी अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताए । विजेताहरूलाई एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीतको बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिनाभित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिए ।

देशभरका एक सयभन्दा बढी रेडियो एफएमहरूबाट एकै साथ प्रसारण हुने कार्यक्रम इन्द्रेणीमार्फत् देशभरका लोक गीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन इन्द्रेणीका सञ्ंचालक चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणि गैतमले गर्ने गरेका छन् । । “खोजी आवाजको” प्रतियोगिताको निर्णायकमा लोक दोहोरी गायक तथा श्रष्टा घमेश दुलाल र प्रभावन जे रहेका छन् ।

पहिलो रेडियो अडिसनमा सीता मगर भोजपुर, धनराम परियार काठमाण्डौ, उपेश परियार दाङ, महेश दवाडी काठमाण्डौ, छिना गुरूङ भोजपुर र पृथ्विराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सीता मगर पहिलो अडिसनबाट छनौट भएका थिए । यस्तै दोस्रो रेडियो अडिसनमा कैलाश कैनी डडेल्धुरा, थामी मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र श्वेता सुनार गुल्मीबाट सहभागी भएका थिए । कैलाश कैनी र पवित्रा खड्का अडिसनबाट छनौट भएका थिए ।

यस्तै तेस्रो रेडियो अडिसनमा पूर्णकुमार तिवारी काठमाण्डौ, पवित्रा आले मगर काठमाण्डौ, नविन बोहरा डोटी, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धिरेन्द्र सलामी मगर र पूर्णकुमार तिवारी अडिसनबाट छनौट भएका थिए । तीन अडिसनबाट ६ जना छानिएका थिए । जसमा धनराम परियार, सीता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहेका थिए । फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन ।