इटहरीः मोरङको बुढिगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ घर भएका ८८ वर्षीय पुरुष रहेको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए ।
कात्तिक २७ गते गरिएको पीसीआर परीक्षणबाट संक्रमित देखिएका पुरुषलाई सोही दिन उपचारार्थ आइसोलेसनमा भर्ना गरिएकोमा उपचारका क्रममा आज बिहान करिब ५ः५० बजे उनको मृत्यु भएको देवको भनाइ छ । मृतक पुरुष लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित रहेको देवले स्पष्ट पारे ।