इटहरीः झापाको मेचीनगर नगरपालिका १५ हल्दिबारीबाट हिजो दुई जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर–१५स्थितज्यामिरगढी घर भएका २४ वर्षीय विष्णु राजवंशी र सोही वडाको पानबस्ती घर भएका १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले बताए । पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) ११.०६ ग्राम तथा ८१ हजार एक सय रुपैयाँँ नगदका साथै एक सय दश रुपैयाँ बराबरको भारतीय मुद्रा र दुई थान मोबाइल बरामद गरेको उनले बताए ।

विशेष सूचनाका आधारमा ज्यामिरगढीस्थित प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अभियुक्तहरु सवार रहेको बा ३८ प ३८८५ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका अभियुक्तहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।