इटहरीः हिन्दु धर्मावलम्वीहरुले प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाउने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ दिई सम्पन्न भएको छ ।

हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको थियो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास गरिन्छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । विगतका वर्षहरुमा छठ पर्वका अवसरमा नदी तथा तलाउका किनारमा गई सामूहिक रुपमा छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाएर पर्व मनाउन प्रशासनले गरेको आग्रहका कारण मानिसहरुले घरमै सिमित मानिसको सहभागितामा पर्व सम्पन्न गरेका छन् ।