इटहरीः रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ ।

कम्पनीको तेश्रो वार्षिकउत्सवको अवसरमा रिलायन्सको धरान शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको चरम अभाव हुँदा बिरामीले अकालमै ज्यान गुमाउन परिरहेको तथा उपचारमा गम्भीर समस्या उत्पन्न भइरहेकाले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख सुजेन्द्र तामाङले बताए ।

कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको थियो भने कम तौल तथा ब्लडप्रेसरका कारण १६ जना रक्तदान गर्नवाट वञ्चित भएका थिए । कार्यक्रममा हालसम्म ४१ औं पटक रक्तदान गर्ने धरान १८ निवासी प्रेमकुमार राई र ३६औं पटक रक्तदान गर्ने बेलबारी, मोरङ निवासी विनोद गिरीलाई विशेष सम्मानसमेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका सुनसरी सभापति एवम् केन्द्रीय सदस्य उमेश थापाले कोरोनाको महामारीजस्तो प्रतिकूल समयमा पनि रिलायन्स लाइफ इन्स्योरेन्सले रक्तदानजस्तो महान् मानवीय सेवाको कार्यक्रम सफलतापूर्वक आयोजना गरी सामाजिक दायित्व वहन गरेको भन्दै उच्च प्रशंसा र आभार व्यक्त गरे ।

बी.पी. प्रतिष्ठानमा अति गम्भीर अवस्थामा उपचार गराइरहेकी ताप्लेजुङकी प्रिया राईले रक्तदानस्थलबाटै ३ पिन्ट रगत प्राप्त गरेकी थिइन् । शाखा प्रमुख सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिलायन्सका क्षेत्रीय प्रमुख राजन निरौला, इटहरी शाखा प्रमुख विनोद कार्की, नेपाल व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, नेपाली कांग्रेसका जिल्ला सदस्य अनिल श्रेष्ठ, महाधिवेशन प्रतिनिधि नन्दराज राई, क्षेत्रीय सहसचिव प्रेमकुमार राई, क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई लगायतको उपस्थिति रहेको थियो ।