इटहरीः चुनावमा पराजित भएर पनि हार स्वीकार नगरी मत परिणामविरुद्ध अदालतमा मुद्दा दायर गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अदालतको प्रतिकूल फैसलाको सिकार भएका छन् ।

निर्वाचनमा विजय प्राप्त गरेका आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनको विजय अस्वीकार गदै आएका ट्रम्प अदालतबाट भने परिणाम स्वीकार गर्न बाध्य पारिएका छन् । पेन्सिलभेनिया राज्यमा भएको मतदानमा प्रश्न उठाउँदै ट्रम्पले दायर गरेको मुद्दा सो राज्यको एक जिल्ला अदालतले खारेज गरिदिएको छ ।

हुलाकमार्फत् भएको मतदानमा धाँधली भएको भन्दै ट्रम्पले सो मत गणना नगर्न माग गरेका थिए । न्यायाधीश म्याथ्यु ब्रानको इजलासले ८० हजार मतको विशाल अन्तरसहित विजय प्राप्त गरेका उम्मेदवार बाइडेनको विजयलाई अमान्य गर्नुपर्ने ट्रम्पको माग उचित नभएको ठहर गर्दै मुद्दा खारेज गरिदिएको हो ।

ट्रम्पले लगाएको आरोप पुष्टि हुने प्रमाण अदालतमा पेस गर्न नसकेका कारण मुद्दा खारेज भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ छ । -एजेन्सी