इटहरीः कोरोना संक्रमणका कारण मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक एक जना गरी दुई कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।

नोबेल अस्पतालमा ज्यान गुमाउनेमा सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गौरीशंकर देव रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार ५४ वर्षीय देवलाई १७ दिनअघि कोरोना पुष्टि भएकोमा आईसीयूमा रही उपचाररत रहेका उनको शनिबार राति उपचारका क्रममा ज्यान गएको हो ।

नेपाल स्वास्थ्यकर्मी युनियनका सचिवसमेत रहेका मृतक देव विगत ३० वर्षदेखि स्वास्य क्षेत्रमा कार्यरत रहेको दाहालको भनाइ छ ।

यसैगरी, बीपी प्रतिष्ठानमा ज्यान गुमाउनेमा झापाको मेचिनगर नगरपालिका ४ बाहुनडाँगी घर भएका ४५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार गत मंसिर १ गते संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि ३ गते उपचारार्थ प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना भएकोमा उपचारका क्रममा शनिबार राति उनको ज्यान गएको हो ।