इटहरीः कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गरेको देशव्यापी लकडाउन र निषेधाज्ञाका कारण अवरुद्ध भएको कक्षा १२ को परीक्षा आजदेखि देशैभर सूरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डमार्फत् लिइने परीक्षामा चार लाख ३२ हजार पाँच सय परीक्षार्थी सहभागी रहेका छन् । स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरी परीक्षा सञ्चालन गरिएको बोर्डले जनाएको छ । देशभरका एक सय विद्यालयमा परीक्षा सञ्चालन गरिरहेको बोर्डले परीक्षार्थीको तापक्रम परीक्षणको अनिवार्य व्यवस्था मिलाएको छ ।

यसैगरी, माक्सको प्रयोग पनि अनिवार्य गरेको बोर्डले एक कोठामा अधिकतम २० परीक्षार्थी मात्र सहभागी हुन अनुमति दिएको छ । परीक्षार्थीहरुबीच दुई मिटरको दूरी कायम गरिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । बोर्डले ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिने उनको भनाइ छ । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने भएको छ । अङ्क भार कम भएकाले यसअघि तीन घण्टामा सम्पन्न हुने परीक्षा यस पटक बिहान ८ बजे सुरु भई डेढ घण्टा मात्र सञ्चालन हुने बोर्डले जनाएको छ ।

परीक्षा मंसिर १६ गते सम्पन्न हुनेछ । यसैबीच, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य मापदण्ड पालना गर्दै ढुक्कसँग परीक्षामा सहभागी हुन परीक्षार्थीहरुलाई अनुरोध गरो छन् । स्वास्थ्य सतर्कताका सामान्य नियमहरु पालना गरी कोरोनाबाट बच्न सकिने उल्लेख गर्दै उनले साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गर्र्ने, माक्स लगाउनेजस्ता नियम पालना गर्न अनुरोध गरेका छन् ।