इटहरीः गत चैत्र ११ गतेबाट नेपालमा कोरोना संक्रमण फैलन नदिन लकडाउन लागु गरियो । त्यही बेलादेखि विद्यालयमा पनि पठनपाठन ठप्प भयो । अहिले पनि नेपालमा विद्यालयहरु खुल्न सकेका छैनन् । कोरोना संक्रमणको दर उच्च रहेकै बेला सरकारले कक्षा १२ को अन्तिम परीक्षा सञ्चालन गरेको छ ।
मंगलबारदेखि सरकारले उच्च स्वास्थ्य सुरक्षाका साथ परीक्षा सञ्चालन गरेको हो । कोरोना संक्रमणको बेला भएको परीक्षामा पनि विद्यार्थीको उत्साहजनक सहभागिता पाइएको छ । सुनसरीको इटहरीमा सञ्चालन भइरहेका सरकारी तथा संस्थागत विद्यालयमा मंगलबार विद्यार्थीको उच्च सहभागिताका साथ परीक्षा सञ्चालन भएको छ । यहाँका विद्यालयका शिक्षक तथा विद्यार्थीले कोरोना संक्रमणका बीच परीक्षा आयोजना गरिए पनि विद्यार्थीमा उत्साह देखिएको बताएका छन् । इटहरीमा रहेको कस्तुरी कलेजका प्राचार्य कमलेस शर्मा पौडेलले कोरोना संक्रमणबाट बच्न सरकारले लागु गरेको स्थास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर नै परीक्षा सञ्चालन गरिएको जानकारी दिए । उनले लामो समयसम्म विद्यालय बन्द हुँदा पनि विद्यार्थीमा परीक्षा प्रतिको उत्साह कम नभएको बताए ।
यता विश्वआर्दश एकेडेमि इटहरीका प्राचार्य गणेश दुलालले एउटा बेन्चमा एक जना मात्र विद्यार्थी राखेर परीक्षा सञ्चालन गरिएको जानकारी दिए । साथै उनले परीक्षामा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको पनि जानकारी दिए । कस्तुरी कलेजमा कक्षा १२ को परीक्षा दिन आएका छात्र सुरेन्द्र भण्डारीले परीक्षाको लागि समय एकदमै कम भए पनि पूर्ण तयारीका साथ आएको बताए । साथै उनले कोरोनाको कहरमा भइरहेको परीक्षामा डरसँगै उत्साह पनि रहेको बताए । ४० नम्बरको लागि सञ्चालन भएको परीक्षा भए पनि विद्यार्थीले १०० नम्बरको जति नै मेहनत गरेको उनले जानकारी दिए । इटहरीका सम्पूर्ण विद्यालयले विद्यार्थीलाई अनिर्वाय माक्स प्रयोग गराउनुका साथै एक बेन्चमा एक जना मात्र विद्यार्थी राखेर परीक्षा सञ्चालन गरेका छन् । यस्तै गेटबाट विद्यार्थीलाई प्रवेश गराउँदा थर्मल गनमार्फत् ्तापक्रम जाँच गरेर मात्र परीक्षा हलमा पठाइएको छ ।