इटहरीः प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार आठ सय ५० रुपैयाँ मूल्य बराबरको एउटा भेन्टिेलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, दुई सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा गरी १८ लाख ५८ हजार एक सय रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेकी हुन् । रेडक्रसले हस्तान्तरण गरेको सामग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले संघीय, प्रदेश र स्थानीय सरकार मात्र नभएर कोरोना संक्रमण नियन्त्रणका लागि सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताइन् ।
प्रदेश सरकारले प्राप्त गरेको सामाग्री कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्य गर्ने व्यक्तिहरुलाई वितरण गर्ने गरिएको उनले बताइन् । राज्यमन्त्री गजमेरले नागरिको जीवन रक्षाका लागि स्वास्थ्य सामग्री प्रयोग गरिने गरिएको उल्लेख गरिन् । नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष कार्कीले रेडक्रस केन्द्र स्तरमा मात्र नभई प्रदेश र जिल्ला स्तरमा पुगेर कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी र बिरामीको सघन उपचारमा मदत पु¥याउने काम गरिएको बताइन् ।
कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा कोरोना महामारीको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोधकुमार सिंहले जानकारी दिए ।