इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजबिराज नगरपालिका ४ घर भएका ५० वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार मंसिर १ गते संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ कोभिड अस्पताल भर्ना गरिएका पुरुषको उपचारका क्रममा आज बिहान १२ः१५ बजे ज्यान गएको हो ।
मृतक पुरुषमा कलेजो र मृगौलाको दीर्घकालीन समस्यासमेत रहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । मृतकको शव नियमानुसार व्यवस्थापन गरिने प्रतिष्ठानले जनाएको छ ।