इटहरीः मोरङको बेलबारी नगरपालिका ५ कसेनीस्थित खाोलामा बनाइएको बाँसको पुलबाट मोटरसाइकल पार गराउँदा उठाइएको शुल्कको विरोध गरेको भन्दै हत्या गरिएका ३९ वर्षीय चन्द्रकुमार राईको परिवार हत्याका अभियुक्तहरुको धाकधम्कीका कारण विस्थापित हुनुपर्ने अवस्थामा पुगेको छ ।

मृतक राईको परिवारका अन्य तीन जना सदस्यलाई कुटपिट गरी घाइतेसमेत बनाएका २० जना अभियुक्तहरुमध्ये १२ जना फरार रहेको र पक्राउ परेका सात जनामध्ये पनि चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरी तीन जनालाई जिल्ला अदालतले धरौटीमा छोडेपछि पक्राउ नपरेका र धरौटीमा छुटेका अभियुक्तहरुले मृतकका परिवारमाथि मानसिक दबाब बढाउन थालेका हुन् ।

धरौटीमा छोडिएका अभियुक्तहरुले घरमा आएर ‘चार जनालाई मार्नुपर्नेमा एक जना मात्रै मारेछौं, गाउँमा तिमीहरु कसरी बस्छौं हेरौला’ भन्दै धाकधम्की दिने गरेको मृतकका आफन्त धनबहादुर राईको भनाइ छ । आर्थिक अवस्था कमजोर रहेको राई परिवारमाथि अनाहकमा आफन्त गुमाउनुको पीडाका साथै आर्थिक संकट एकैसाथ आइपरेको छ । सोही घटनामा टाउकोमा गम्भीर चोट लागेका राई परिवारका अर्का सदस्य समुन्द्र राई अहिले आर्थिक अभावका कारण उपचारबाट पनि बञ्चित भएका छन् । चार लाख रुपैयाँ खर्चको जोहो गर्न नसक्दा उनको टाउकोमा स्टिल हाल्नुपर्ने काम थाति रहेको छ ।  हालसम्म आफ्नै तर्फबाट पाँच लाख रुपैयाँ खर्च गरी उपचार गराएको परिवार अदालतबाट क्षतिपूीर्त रकम पाइने आशमा रहेको छ ।

भदौ ११ गते पुल प्रयोगबापत रकम असुलीको घनेन्द्र श्रेष्ठले विरोध गरेपछि रकम उठाउँदै आएका कृष्णकुमार चौधरी र विनयकुमार सरदारले सोको भोलिपल्ट साथीहरुको सहयोगमा श्रेष्ठमाथि आक्रमण गरेकोमा सम्झाइबुझाइ गर्न गएका चन्द्रकुमारसहित चार जनालाई आक्रमणकारीहरुले गम्भीर घाइते बनाएकोमा चन्द्रकुमारको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा ज्यान गएको थियो । अन्य घाइतेहरु ३६ वर्षीय समुन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई र १५ वर्षीय गौरब राई भने बाँच्न सफल भएका छन् ।

बाँसको पुलमा मोटरसाइल तारेको चर्को शुल्क उठाउने कार्यको विरोध गरेको भन्दै भदौ ११ गते साँझमा स्थानीय दिनेश भन्ने घलेन्द्र श्रेष्ठसँग कृष्णकुमार चौधरी र विनयकुमार सरदारको भनाभन भएको थियो । सोही भनाभनको बदला लिन भदौ १२ गते कृष्णकुमार र विनयरले आफ्नो साथीहरु भेला गरेर श्रेष्ठमाथि सामूहिक आक्रमण गराएका थिए । आक्रमण छुटाउन गएका ३९ वर्षीय चन्द्रकुमार राईको नै उनीहरुले हत्या गरेका थिए ।

घटनामा प्रहरीले २० जनलाई अभियुक्त बनाएकोमा विनयकुमार सरदार, राजेन्द्र थुलुङ, दिपेन्द्रकुमार चौधरी, विरेन्द्रकुमार खवास र बिशालकुमार खवास पुर्पक्षका लागि जेल चलान भएका छन् । अभियुक्तहरु यानु थुलुङ ५ लाख, जितेन्द्र चौधरी ४ लाख र बलराम चौधरी ५ लाख धरौटीमा रिहा भएका छन् भने अन्य १२ जना हालसम्म फरार रहेका छन् ।