इटहरीः सुनसरीको इटहरी उपमहानगरमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी इटहरी र विभिन्न संघसंस्थाको समन्वयमा ३१ पिन्ट रगत संकलन गरिएको हो । कोरोना महामारीका कारण नियमित रुपमा रक्तदान नहुँदा प्रदेश १ का विभिन्न अस्पतालहरुमा रगतको चरम अभाव भएकोले इटहरीमा रक्तदान गरिएको नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सचिव सन्जिव ढुङ्गानाले जानकारी दिए ।

‘देशभरि नै कोरोना महामारीका कारण रक्तदानका कार्यक्रम एकदम कम भइरहेका छन् । यसले अस्पताल र व्ब्लड बैँकहरुमा पनि रगतको चरम अभाव हुन गएको छ । धरानमा रहेको ब्लड बैँकमा रगतको अभाव भएको थाहा पाएर इटहरीमा रहेका विभिन्न संघसंस्थाहरुसँग मिलेर रक्तदान कार्यक्रम आयोजना गरेका हौँ’, उनले भने । इटहरीमा भएको रक्तदान कार्यक्रमले थोरै भएपनि रगतको अभावलाई कम गर्ने उनको विश्वास छ ।

इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका लेक्चरर मनोज चौधरीले यो समयमा पनि रक्तदान गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै यो बेलामा रगतको अभाव कम गर्न आफूले परि रक्तदान गर्दा खुसी लागेको बताएका छन् । ‘अहिले देशभरि नै रगतको अभाव छ । यस्तो समयमा रक्तदान आयोजना गर्नुभएकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु । गत वर्ष मैले ६ पटकसम्म रक्तदान गरेको थिएँ तर यो वर्ष कोरोनाका कारण रक्तदान गर्न सक्ने अवस्था थिएन् । तर आज यसरी रक्तदान गर्दा खुसी लागेको छ’, उनले भने । साथै उनले अरुलाई पनि रक्तदान गर्न अनुरोध गरे ।

127054402_1301824330175425_3766404453644742415_n

यस्तै, इटहरीमा समाजिक काम गर्दै आएका सागर अधिकारीले हरेक तीन महिनामा रक्तदान गर्दै आएको बताए । उनले अहिले पनि स्वतस्र्फुत रक्तदानको लागि सहभागी बनेको जानकारी दिए । सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरी, अंकुर बचत तथा ऋण सहकारी संस्था इटहरी, युवा विकास केन्द्र इटहरी, लायन्स÷लियो क्लव अफ इटहरी स्मार्ट सिटि, लायन्स÷लियो क्लब अफ इटहरी ग्रिन सिटि र लायन्स÷लियो क्लब अफ इटहरी प्रोफेस्नलले एकसाथ आयोजना गरेका थिए ।